प्रदेश १ को आगामी आर्थिक बर्षको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ। बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ।
चालु खर्च १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत रहेको छ। स्थानीय तहमा वित्तिय हस्तान्तरणमा ३ अर्ब २२ करोड ४३ लाख रहेको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बजेट बक्तव्यमा बताएका छन्।
प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा यो बजेट ८ अर्ब हाराहारी कम हो । गत आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो।
पछिल्लो ११ महिनामा प्रदेश १ मा ४० प्रतिसत खर्च
चालु आर्थिक वर्षको ११ महिनामा ४० प्रतिसत खर्च गरेको छ। प्रदेशसभा बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री आङबुहाङले जानकारी दिएको जानकारीअनुसार आगामी असारमसान्तसम्म ६० प्रतिसत खर्च हुने अनुमान रहेको छ। प्रदेश १ सरकारको कुल बजेट ४०अर्ब ८९ करोड ९९ लाख ४७ हजार र संघीय सरकारको १ खर्ब ४० करोड ४८ लाख थप अनुदान रकम रहेको छ।
कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्नको लागि ४४ करोड
आगामी आर्थिक वर्षा २०७८/०७९ मा कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्नको लागि ४४ करोड विनियोजन गरेको छ। कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने, राहत र पुनरुत्थानका कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्य क्षेत्रको विकासमा ३ अर्ब २५ करोड विनियोजन
आगामी आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य क्षेत्रको विकासको लागि ३ अर्ब २५ करोड विनियोजन गरेको छ। प्रदेशका सबै अस्पतालको गुरुयोजना बनाएर स्तरोन्नती गरिने बताए। सबै अस्पतालमा अक्सिजन प्लान्ट,सघन उपचारकक्ष बनाउने र प्रविधियुक्त बनाउने भएको छ।
शिक्षा क्षेत्रको विकासमा २३ करोड ४९ लाख विनियोजन
शिक्षा क्षेत्रको विकासको लागि २३ करोड ४९ लाख विनियोजन गरेको छ। शिक्षा सुधार कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार र पुस्तालय निर्माण, गुरुकुल, गुम्बा र मदरसा शिक्षाको विकासको लागि सहयोग गरिने बताए।
सहिद र राजनेताको गाउँमा स्मृति केन्द्र बनाउन ४ करोड बजेट
मदन भण्डारीको जन्मथलो ढुंगेसाँधु, सहिदभूमि छिन्ताङ, सुखानी र उर्लाबारीमा प्रेरणादायी स्मृतिकेन्द्र निर्माणका लागि ५ करोड विनियोजन गरेको छ। राजनेता पार्क निर्माणको लागि एक करोड बजेट रहेको छ। संघर्षपूर्ण राजनीतिक विरासतलाई सम्मान र अभिलेखीकरण गर्न बजेट व्यवस्था गरेको आर्थिक मामिला तथा योजनामन्त्री आङबुहाङले बताए।
नेताको नाममा स्थापित संस्थालाई तीन करोड अनुदान
राजनीतिक र सामाजिक परिवर्तनमा योगदान दिने रामप्रसाद राई, नारदमणी थुलुङ, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, सुर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, भरतमोहन अधिकारी, सुशिल कोइराला, नोना कोइराला, बालगुरु षडानन्द र योगमायाको नाममा स्थापित स्मृति प्रतिष्ठान,फाउण्डेसन र अध्ययन केन्द्रलाई ३ करोड अनुदान दिने भएको छ।
जनता आवास कार्यक्रमका लागि ४६ करोड बजेट
विपन्न तथा पिछाडि पारिएका समुदायको लागि नेपाल सरकारसँगको सहकार्यमा सञ्चालित जनता आवास कार्यक्रमको लागि ४६ करोड बजेट विनियोजन गरेको छ। यो रकमबाट ३ हजार घर निर्माण हुने छ। चालु आर्थिक वर्षमा ४ हजार ५ सय घर निर्माण सम्पन्न हुने भएका छन्।
पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट
आगामी आर्थिक बर्ष २०७८/७९ मा पूर्वाधार निर्माणका लागि १३ अर्ब २१ करोडको बजेट रहेको छ। प्रदेश सरकारले ल्याएका विभिन्न सडक, पक्की पुल तथा अन्य पुर्वाधारको निर्माणको लागि यो बजेट खर्च गरिने भएको छ।
कृषि क्षेत्रमा २ अर्ब ९० करोड बजेट विनियोजन
कृषि क्षेत्रको विकासको लागि २ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ। किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिने, बाँझो जमिन खेति गर्ने किसानलाई बिशेष अनुदान, कृषि उत्पादनलाई भण्डारण र प्रशोधनको व्यवस्था गर्ने, फलफुल खेति, बाख्रापालन, गाइफार्म, चिस्यान केन्द्रलगायतका क्षेत्रमा बजेट खर्च गरिने छ।
पर्यटन विकासमा ८३ करोड ३८ लाख बजेट
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसिक खेलकुद पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने छ।
उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट
उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। ‘प्रदेश पानी, प्रदेशकै जनताको लगानी’ कार्यक्रम अनुरुप निजी क्षेत्र र स्थानीय समुदायलाई लगानी गराउने र सौर्य तथा अन्य नविकरणीय उर्जाको विकासको लागि बजेट खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।
खानेपानी र सरसफाईका लागि १ अर्ब ८२ करोड बजेट
खानेपानी तथा सरसफाईको लागि १ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमको लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमका लागि यो रकम खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्