काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, के-के छन् प्राथमिकताका योजना र कार्यक्रम

काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने जानकारी दिएको छ।
स्वास्थ्य बीमा शुल्कको ५० प्रतिसत रकम काठमाडौं महानगरले बेहोर्ने
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिसत रकम काठमाडौं महानगरले बेहोर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरामी उपचारमा सहयोग होस भनेर बीमा शुल्क बेहोर्ने नीति लिएको मेयर शाक्यले बताए। महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने कर र अन्य शुल्कमा सहुलियत प्रदान गर्ने भएको छ।
कोभिड-१९ महामारीबाट प्रभावित व्यवसायमा कर छुट
काठमाडौं। काठमाडौं महानगरपालिकाले कोभिड-१९ को महामारीबाट प्रभावित व्यवसायका करदातालाई विशेष कर छुट गर्ने भएको छ। महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने महानगर प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
गुठी, बाजा खलः, भजन खलः, जात्रा सञ्चालन सहयोग गर्ने
महानगरपालिकाले सँस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आएका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। महानगरको आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू, सामुदायिक गुम्बाका प्रमुख लामाहरूलाई पनि सम्मान गर्ने बताए।
ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइ पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गर्ने भएको छ। महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिने महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
विद्युतीय सवारी करमा शतप्रतिशत छुट
विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न काठमाडौं महानगरले सवारी करमा शतप्रतिशत छुट दिइने भएको छ। नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने र उपभोक्तालाई छुट दिने महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ। उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिने बताइएको छ।
२० लिटरसम्म खानेपानी छुट
महानगरपालिकाले नेपाल सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने भएको छ। महानगरपालिकाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ। त्यस्तै सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाह गर्ने बताइएको छ।
उपत्याका छिर्ने नाकामा ‘भेहिकल क्लिनिङ सेन्टर’ स्थापना
काठमाडौं महानगरले उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने भएको छ। महानगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकाका स्थानीय तहहरूको समेत सहभागितामा भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने उल्लेख छ। उपत्यका भित्रिने सवारी साधनहरुबाट निस्कने प्रदुषण नियन्त्रणका लागि क्लिनिङ सेन्टर निर्माण गरिने बताइएको छ।
महानगरको ‘पौरखी मेला’देखि ‘रिभल्विङ फण्ड’ सम्मको योजना
उपत्यकाका स्थानीय तहहरू, काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरुको पुनरुत्थानका लागि ‘रिभल्विङ फण्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ भएको छ।
महानगरमा एक वडा एक नमूना विद्यालय कार्यक्रम
महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ। महानगरको ३२ वडाका नमुना विद्यालयलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने भएको छ। महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा सम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको छ ।

प्रतिकृया दिनुहोस्