पछिल्लो पाँच दिनमा बाढीपहिरोबाट १६ जनाको मृत्यु, १७ सय ६० जना विस्थापित

पछिल्लो पाँच दिनमा बाढीपहिरोबाट १६ जनाको मृत्यु, १७ सय ६० जना विस्थापित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। पछिल्लो पाँच दिनमा बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ। अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा ३/३ जना,सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक/एक जना रहेका गृह मन्त्रालयले जनाएको छ। बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन्। बाजुरा र रुपन्देहीमा एक/एक जना बेपत्ता रहेका छन्।

बाढीपहिरोमा फसेका १७२ जनाको उद्दार

बाढीपहिरामा परेका १७२ जनाको आज उद्दार गरिएको छ। सिन्धुपाल्चोकमा ९४ र सल्यानमा ८ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ। साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।

बाढीपहिराले १७ सय ६० जना विस्थापित

बाढीपहिराका कारण अहिलेसम्म ५२८ घरका एक हजार ७६० जना विस्थापित भएका छन्। बाढीपहिराले १२ वटा पुल, एकवटा विद्यालय र सातवटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए। यहीबीचमा बाढीपहिरामा परेर ५१६ पशुचौपाया मरेका छन्।रासस