कांग्रेस महाधिवेशन : डडेल्धुराका देउवालाई काठमाडौंका सिंहको च्यालेन्ज, कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा

कांग्रेस महाधिवेशन : डडेल्धुराका देउवालाई काठमाडौंका सिंहको च्यालेन्ज, कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेपछि नेतृत्वमा होडबाजी सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग आगामी नेतृत्वको विषय छलफल थालेपछि अर्का नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने तयारी थालेका छन्।

आफूनिकट नेताहरुसँग छलफल थालेका नेता सिंहले भने,”अहिले सहकर्मीहरुसँग छलफल भइरहेको छ। कांग्रेसलाई एकताबद्ध र संस्थागत गर्नको लागि मेरो उम्मेदवारी हुनेछ। म केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसके। अब पालो मेरै हो।”

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरि खतिवडाले बताए।

बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई टिममा समेट्न सल्लाह दिएका थिए। यसअघि हिजो प्रदेश १ र २ औ का नेताहरुसँग छलफल गरेका थिए।

कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा, कस्ले बाजी मार्ला?

१४औं महाधिवेशनमा सभापतिको लागि कोइराला परिवारकै दुई दाजुभाइ दौडमा उत्रिएका छन्। वर्तमान महामन्त्री एवं विपी कोइरालाका छोरा सशांक र भतिज शेखर कोइरालाले आगामी महाधिवेशन सभापति पदमा उम्मेदवार बन्ने तयारी गरेका छन्।

कोइराला परिवारनिकट प्रदेश १ ससदीय दलका प्रमुख सचेतक केदार कार्की भन्छन्,”दुवै जना दौडमा हुनुहुन्छ। जस्को अनुकुल परिस्थिती बन्छ उही नै उम्मेदवार बन्ने पारिवारिक सहमति भएको छ। पारिवारिक विवाद छैन।”

कांग्रेस महाधिवेशनमा कुन-कुन पदाधिकारी पदमा निर्वाचन हुन्छ?

काठमाडौं। कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेसनमा सभापतिसहित १३ वटा पदाधिकारी पदको निर्वाचन हुने भएको छ। कांग्रेसको संशोधित विधानअनुसार सभापति-१,उपसभापति-२,महामन्त्री-१ र सहमहमन्त्री-८ वटा पदमा निर्वाचन हुनेछन्।

कोषाध्यक्ष पद मनोनित हुनेछ। यसअघिको विधानमा सभापति-१, महामन्त्री-१ र कोषाध्यक्ष पदमा मात्रै निर्वाचन हुन्थ्यो भने अन्य पदाधिकारी सभापतिले आफ्नो अनुकुल मनोनित गर्दै आएका थिए।