‘म्यान अफ द इलेक्सन’राजेन्द्र राई एमालेको धनकुटा जिल्ला इन्चार्ज

काठमाडौं। ‘म्यान अफ द इलेक्सन’ घोषित एमाले केन्द्रिय सदस्य राजेन्द्र राई एमाले धनकुटाको इन्चार्जमा मनोनित हुनु भएको छ। धनकुटामा स्थानीय, प्रदेश र संघीय चुनावमा सबै सिट दिलाएर चर्चामा आउनु भएका राई एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। एमालेको हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले राईलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
२०७४ मा धनकुटा यस्तो जिल्ला बन्यो, जुन जिल्लामा एमाले बाहेक अन्य सबै पार्टी मिल्दा पनि कुनै स्थानीय तह जित्न सकेनन् । अर्थात धनकुटामा एमालेले राजेन्द्र राईको नेतृत्वमा क्लिन स्वीप गर्यो । एमालेले क्लिन स्वीप गरेको एउटैमात्र जिल्ला धनकुटा हो।
राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘म्यान अफ द इलेक्सन’को उपाधि दिनुभएको थियो ।२०३६ सालमा काठमाडौंको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
राईले ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीनरूपमा पार्टीमा काम गर्न थाल्नुभयो । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी हुनुभयो । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारमा पर्नुभयो । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो ।
२०४६ सालको जनआन्दोलनको सफलता लगत्तै उनले अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बन्नुभयो । उहाँले अखिलपछि युवा संघको जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभयो ।
राजेन्द्र राई ०४९ मा धनकुटा जिल्ला विकास समितिको सदस्य निर्वाचित हुनुभयो जतिबेला धर्मराज पौडेल सभापति थिए । २०५४ सालमा उनी जिल्ला विकास समितिको उपसभापति हुनुभयो । ०६६ सालमा एमाले धनकुटाको अध्यक्ष निर्वाचित हुनुभएका राई लगातार दुईपटक जिल्लाको नेतृत्व गरिरहनुभएको छ ।
त्यसैगरि केन्द्रिय सदस्यहरु सकुन्तला बस्नेत र बिना राईलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ। सविधानसभा सदस्य टीकाराम चेम्जोङलाई एमालेको प्रदेश १ को प्रदेश कमिटि उपाध्यक्ष बनाइएको छ।

प्रतिकृया दिनुहोस्