कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु

कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसाल्नुभएको छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको हो । मतदाता बिहानैदेखि लामबद्ध भइसक्नुभएको छ । मतदान हुने तीनवटै मतदान केन्द्रमा मतदाता बिहान सबेरैदेखि लामबद्ध भएका हुन् । बिहान ८ बजे मतदानको समय तय गरिएकाले मतदाता बिहानैदेखि लाइनमा बसेका हुन् । भृकुटीमण्डप परिसरमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार–प्रसार गरेर मत मागिरहेका छन् । लामबद्ध प्रतिनिधिसँग उम्मेदवारले आफ्नै मत मागिरहेका छन् ।

महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

सबै पद र क्लष्टरअनुसार विभिन्न २९ प्रकारका मतपत्र हुने बताइएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने समितिको अनुमान छ ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।