January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कोरोना महामारीबाट किन जोगियो सन्थाल समुदाय

कोरोना महामारीबाट किन जोगियो सन्थाल समुदाय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा। यहाँ बसोबास गर्दै आएको आदिवासी सन्थाल समुदाय कोभिड-१९ को महामारीको प्रभावबाट अन्य समुदायका तुलनामा जोगिन सफल भएको पाइएको छ ।

जिल्लामा कोभिड-१९ बाट सङ्क्रमित भएकाको विगत डेढ वर्षको तथ्याङ्क अध्ययन गर्दा ती समुदायमा न्यून प्रभाव परेको र मानवीय क्षति एकदमै थोरै रहेको देखिन्छ ।ती समुदाय आर्थिकरुपले जति विपन्न छन्, स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै पहुँचविहीन छन् । स्थायी रोजगारी र पर्याप्त स्रोतको अभावमा उनीहरु भोक, रोग र दैनिक जीवनका कठिनाइको बोझले थिचिएका हुन्छन् ।

यति हुँदाहुँदै पनि कोरोना भाइरसको सङ्क्रमणबाट यो समुदाय जोगिन कसरी सफल भयो ? यसका कारणबारे ठोस अध्ययन अनुसन्धान भएको छैन । दशकौँअघि झापालगायत तराईका जिल्लामा फैलिएको औलो (मलेरिया) रोगको महामारीमा समेत यो समुदाय सुरक्षित थियो । विसं २०२० अघिसम्म मलेरियाको महामारीग्रस्त जिल्ला मानिन्थ्यो । यसको कडा प्रभावबाट अरु समुदायका मानिसको अनगिन्ति मृत्यु भएको मेची बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक चिन्तामणि दाहाल बताउनुहुन्छ । तत्कालीन समयमा पनि जिल्लामा बसोबास गरिरहेका ती समुदाय भने पुरै सुरक्षित थियो ।

उहाँले सन्थाल समुदायमा कोरोना भाइरस प्रतिरोध गर्नसक्ने क्षमता ज्यादामात्रामा रहेको हुनसक्ने विषयमा अनुसन्धानको खाँचो आँैल्याउनुभयो । “यसरी उनीहरुले मलेरिया पचाउनसके, त्यसरी नै कोरोना भाइरस पचाएको हो कि होइन भन्ने विषयमा वैज्ञानिक अनुसन्धान जरुरी छ”, उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार नेपालमा कोरोना महामारीको पहिलो लहर चलेको अवधि विसं २०७७ वैशाख १ देखि विसं २०७८ चैत ३१ गतेसम्ममा १२९ जनाले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गरेका छन् ।

उक्त एक वर्षका अवधिमा ती समुदायका दुई महिनाका एक जना शिशुको मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यसबाहेक पहिलो लहरमा सो समुदायका कसैको पनि मृत्यु भएको पाइँदैन ।

कोरोना महामारीको दोस्रो लहर चलेका बेला विसं २०७८ वैशाख १ देखि विसं २०७८ असोज मसान्तसम्मको तथ्याङ्क अध्ययन गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ती समुदायका ६० वर्षीया एक वृद्धाको सङ्क्रमणबाट मृत्यु भएको पाइयो । जबकि, दोस्रो लहरमा जिल्लामा कोरोना सङ्क्रमणबाट ४०३ जनाको मृत्यु भएको थियो ।

यी दुई जनाको बाहेक सन्थाल समुदायमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएको रेकर्ड देखिँदैन । जिल्लामा लगभग ४० हजार आदिवासी सन्थालको बसोबास रहेको अनुमान छ । ती समुदाय शहरिया र आधुनिक जीवनचर्याबाट अझै पनि टाढा छ । केहीको पक्की घर र सुविधाजनक बसोबास भए तापनि अधिकांश सन्थाल ग्रामीण भेगमा कच्ची घरमा बस्छन् र उनीहरुको रहनसहन परम्परागत शैलीको छ ।

सन्थाल समुदायका अगुवा युवा जिसु मुर्मुले शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचबाट बाहिर रहेका सन्थाली बिरामी हुँदा ठूला अस्पताल पुग्न सक्दैनन् । धाँमीझाँक्री र जङ्गली जडीबुटी लगाएर चित्त बुझाउँछन् । जाडो र गर्मी दुवै सहनसक्ने बानी विकास भइसकेका उनीहरुको खानपान सामान्य नै हुन्छ ।

खोलाखोल्सीमा माछा, गँगटा मारेर खाने उनीहरु उसिनेको चामलको भात रुचाउँछन् । जङ्गलमा पाइने निगुरो, पिपला, च्याउ आदि खोजेर ल्याउँछन् । मुसा, खरायो आदि शिकार गर्ने उनीहरुको खान्कीमा माछामासु र सागपात हुने गर्दछ ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले सन्थाल बस्ती बाहिरी समुदायबाट जहिल्यै आइसोलेसनमा जस्तै हुने बताउनुभयो । सन्थालको बस्ती अरु समुदायको बस्तीभन्दा केही टाढा र झुरुप्प एकैठाउँमा हुने गर्दछ । उहाँका अनुसार दिनभरि खेती र चिया मजदुरी गरेर जीविका चलाउनुपर्ने भएकाले यो समुदायको कामदार जनशक्ति बजार र भीडभाडतिर हिँड्नै भ्याउँदैन । त्यस्तै पाका र बालबालिका उमेरका मानिस आफ्नै घरगाउँ छाडेर बाहिर जाँदैनन् ।

कोरोनाबाट बच्नका लागि विश्वस्वास्थ्य सङ्गठनले दिएको निर्देशनमा पहिलो नम्बरमा भीडभाडमा नजानु र जानै परेमा मास्क अनिवार्य लगाउनुपर्ने भन्ने थियो । सन्थाल समुदाय आर्थिक अभावका कारण मास्क लगाएर हिँड्दैनन । भीडभाडमा नजाने भएकाले सन्थाल समुदाय सुरक्षित रहेको हुनसक्ने उहाँको अनुमान छ ।

लामो समय बन्दाबन्दी हुँदा सन्थाल समुदायले रोजगारी गुमाएसँगै हातमुख जोर्न मुस्किल हुने समस्या भोगे । चिया बगान र खेतीमा काम गर्ने मजदुर रहेका सन्थाल कतिले नियमित काम पाए । तर, अधिकांशले घरै बस्नुपर्दा भोकमारीको सामना गर्नुपर्‍यो । सरकारी निकाय, सामाजिक संस्था र दाताले दिएको राहतका भरमा उनीहरुले लामो बन्दाबन्दी गुजारेका थिए । घर गाउँ छाडेर बाहिर त्यति नहिँड्ने भएका कारण उनीहरु कोरोना सङ्क्रमणबाट जोगिएको हुनसक्छ भन्ने तर्क पनि बलियो छ ।

खोपको विकास नभइसकेको अवस्थामा भारत, अमेरिका, फ्रान्सलगायतका विभिन्न मुलुकमा मलेरियाको उपचारमा प्रयोग हुने ‘क्लोरिक्विन’ नामक औषधि नै कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भएको थियो । मलेरियाको यो औषधि कोरोनाका बिरामीमा प्रयोग गर्दा साइड इफेक्ट देखिएको बताइए पनि विभिन्न देशले आपत्कालीन प्रयोगको अनुमति दिएका थिए । मलेरिया नलाग्ने भएका कारणले सन्थाल समुदायमा रोग प्रतिरोधी क्षमता बंशानुगतरुपमा ज्यादा हुन्छ भन्ने अनुमानलाई बल पुगेको छ ।

सन्थाल समुदायको बसोबास झापा र मोरङमा मात्र पाइन्छ । आदिकालदेखि जङ्गल फँडानी गरेर बसोबास गरेका उनीहरु पाँच दशकअघिसम्म आधा वर्ष वन्यजन्तु सिकार गर्ने र कन्दमूल खोजेर खाने गर्थे । आधा वर्ष भने खेती किसानी गर्थे । बाहै्रमहिना माछा मार्ने उनीहरुको बानी थियो । उनीहरु खानेकुरा पछिका लागि भनेर भण्डारण गरेर राख्दैनन् । माछा र मासु जस्ता खाना खाइरहने उनीहरुको शरीरमा प्रोटिनको अभाव हुँदैन । यसलेसमेत रोग प्रतिरोधी क्षमता बढाएको हुनसक्छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरका कोभिड उपचार विभागका प्रमुख डा मनिष सुवेदीले सन्थाल वा कुनै जाति विशेषलाई कोभिड- १९ को सङ्क्रमण नहुने भन्ने मान्न नसकिने बताउनुभयो । तर सन्थालमा कोरोनाको प्रभाव न्यून देखिनु र मानवीय क्षति ज्यादै कम हुनु वैज्ञानिक अनुसन्धानको विषय हुनसक्ने उहाँको धारणा छ ।

“सन्थाल समुदायमा सङ्क्रमितको सङ्ख्या कति धेरै छ भन्ने कुराले पनि मृत्युदरलाई प्रभावित पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “जहाँसम्म मलेरियाको औषधिको सन्दर्भ छ, नेपालमा पनि सुरुका दिनतिर कोरोनाका बिरामीमा त्यस्तो औषधि प्रयोग गरिएको थियो । पछि प्रयोग बन्द गरियो । हामीकहाँ सन्थाल र उराउलगायतका समुदायका बिरामीको पनि उपचार भएको छ ।”

अरु समुदायको तुलनामा सन्थाल समुदाय आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका क्षेत्रमा ज्यादै पछाडि छ । एउटै परिवारमा एकले अर्कोको उपचारमा प्रत्यक्ष सघाउन नसक्ने, छिमेकीलाई सहयोग पुर्‍याउन नसक्ने, भेटघाट र आवागमन ठप्प पारेर कोठामा बन्दी जस्तो बस्नुपर्ने अवस्था व्यहोर्नु परेको कोरानाकालमा सन्थाल समुदाय उच्च जोखिममा रहेको अनुमान गरिएको थियो ।

अवस्था नाजुक भए तापनि सन्थाल समुदायले महामारीको सहजै सामना गरेको पाइएको छ । आदिवासीकै राजबंशी, मेचे, धिमाललगायत समुदायमा सङ्क्रमणको उच्च प्रभाव परेको र मृत्युदर पनि निकै धेरै भएको पाइएको थियो । यद्यपि सन्थाल समुदाय यसबाट धेरै हदसम्म जोगिन सक्यो । यसका कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धानको खाँचो सबै क्षेत्रले औँल्याएको छ ।