कार्यकर्ताको दबाब थेग्न नसकेपछि माओवादीको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

काठमाडौं। कार्यकर्ताको चर्को दबाब पछि नेकपा माओबादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको जनाइएपनि कार्यकर्ताले महाधिवेशन गर्न दबाब दिएपछि नेतृत्वले बाध्य भएर महाधिवेशनको निर्णय गर्नु परेको बताइएको छ।
आज विहान पार्टी मुख्यलयमा बसेको केन्द्रीय समितिको बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरेको थियो । स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिनुभएको थियो ।
दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरिएकाले एक बजेका लागि पूर्वनिर्धारित उदघाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ ।
१२९ औं माओ जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अवसरमा आइतबार बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् । प्रचण्डले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसुमदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्