एमाले धनकुटाको अध्यक्षमा राई र पराजुलीको कडा प्रतिस्पर्धा

एमाले धनकुटाको अध्यक्षमा राई र पराजुलीको कडा प्रतिस्पर्धा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। नेकपा एमाले धनकुटाको अध्यक्ष पदमा चारजनाको दावेदारी देखिएको छ। पुस २३ गते हुने जिल्ला अधिवेशनमा दावेदारी दिएका नेताहरुको घरदैलो कार्यक्रमसमेत तिब्र देखिएको छ।

धनकुटा जिल्लाका अध्यक्ष राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भएपछि नयाँ आकांक्षीहरुले जिल्लाको नेतृत्व गर्ने दावी गरेका छन् । हालसम्म अध्यक्षमा प्रदेश सांसद निरन राई, इन्द्रमणि पराजुली, सामुदायिक बनको क्षेत्रबाट एमालेमा स्थापित भएका शिव आङ्ला र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले दाबी गरेका छन् ।

चारजनाको दाबी भए पनि विद्यार्थी राजनीतिबाट उदाएका राई र युवा संघको राजनीतिबाट उदाएका पराजुलीबीच नै प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । राई प्रदेश क्षेत्र नं १ र पराजुली २ बाट सांसद हनुहुन्छ । विगतको जिल्ला अधिवेशनमा राजेन्द्र राईसँग भिडेर पराजित भएका पराजुली आफुलाई सर्बसम्मत अध्यक्ष बनाउन दौडधुप गरिरहनु भएको छ।

प्रदेश सांसद निरन राई अघिल्लो अधिवेशनमा उपसचिव निर्वाचित हुनु भएको थियो। तत्कालिन उपाध्यक्ष दुर्गा लिंखा निष्क्रिय र सचिव सुरेन्द्र पौडेल नेकपा एकिकृत समाजवादी पार्टीमा गएपछि जिल्लाको नेतृत्व राईले नै गरिरहनु भएको थियो। धनकुटाको सहिदभूमी गाउँपालिका निवासी राई सरल मिजासका नेता हुन्। राज्यले चरम दमन गरेको खोकु-छिन्ताङ हत्याकाण्ड भएको भुगोलबाट उदाएका राई पनि नेतृत्वको लागि घरदैलो दौडधुप गरिरहेनु भएको छ।

अर्का नेता शिव आङला र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ पनि अध्यक्षको दावेदार देखिएका छन्। तर राई, आङला र तामाङ केन्द्रिय सदस्य राजेन्द्र राईको टिमका भएकाले निरन राईलाई सहयोग गर्ने सम्भावना रहेको छ।

नेताहरु अध्यक्षको लागि दौडधुप गरेपनि जिल्लाको नेतृत्व सर्वसम्मत ढंगले नै चयन हुने एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनु भयो।