नेपालको जनसंख्या करीब ३ करोड पुग्यो, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणमा यो तथ्य देखिएको हो। २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या रहेको थियो ।
अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।
आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपाल दुई करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्