राष्ट्रियसभा निर्वाचन: अन्तर्घातको जालोमा सत्ता गठबन्धन

राष्ट्रियसभा निर्वाचन: अन्तर्घातको जालोमा सत्ता गठबन्धन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। यसपटक राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनमा अन्तर्घात हुँदा एमालेमा उम्मेदवारलाई फाइदा भएको छ। यही अन्तर्घातको कारण एमालेले प्रदेश १ मा एक जना उम्मेदवार जिताउन सफल भयो भने एकजना गोला तान्दा पराजित भए। सातवटै प्रदेशको मतको परिणाम हेर्दा एमालेका उम्मेदवारले अपेक्षा गरेको भन्दा धेरै मत पाएका छन्। यो निर्वाचनले सत्ता गठबन्धन भत्किन थालेको एमालेजनको प्रतिक्रिया रहेको छ।

गण्डकी प्रदेशमा एमालेका २७ जना प्रदेशसभा सदस्य छन् । ५९ जना प्रदेशसभा सदस्यमध्ये एमाले बाहेकका कांग्रेसमा १५ जना,माओवादी केन्द्रमा १२ जना जनमोर्चा र जसपामा २/२ जना तथा स्वतन्त्र रूपमा एक जना छन् । एमालेका उम्मेदवारलाई २७ जनाले मतदान गर्ने र गठबन्धनका उम्मेदवारलाई ३२ जनाले मतदान गर्ने आँकलन गरिएको थियो ।

गण्डकीमा एमालेको जम्मा मतभार २५५६ थियो । तर लिला पोखरेल थनैतले २७२४ मत पाइन् भने पुन्य पौडेलले २६९० रअर्जुन कुमार सुनामले २७२४ मत पाए । यहाँ एमालेले उल्लेख्य मत बृद्धि गरेको देखिन्छ ।

बागमती प्रदेशमा प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले ५९ मत पाउनुपर्ने हो । तर, गठबन्धनका दुवै उम्मेदवारले ५६ मत मात्रै ल्याए । गठबन्धनकै ३ जनाले एमालेलाई भोट दिएको पुष्टी भएको छ । सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनको एक मत एमालेका उम्मेदवारले पाएका छन् ।

प्रदेश १ मा अल्पसङ्ख्यक तथा अपांगता कोटामा गठबन्धनका हेमराज राईलाई ५० मध्ये ४९ मात्रै सांसदले मत दिए। अर्कातिर स्थानीय तहका १२ जनाले पनि उनलाई मत दिएनन् । उनले १२५ जनाको मत पाउनुपर्नेमा ११३ ले मात्रै मत हाले। र, यसकाे फाइदा एमालेका सोनाम ग्याल्जेन शेर्पालाई भयो । सोनामको जितले राष्ट्रियसभामा एमाले पहिलो दलको रुपमा कायमै रहने भएको छ।

गठबन्धनमा रहेका दलहरूबाट एमालेमा मत गएपछि अहिले गठनवन्धनभित्र यस विषयमा छानबिन हुनु पर्ने आवाज उठिरहेको छ । नेपाली काँग्रेसले यस विषयमा छानबिन हुने समेत जनाएको छ ।