निर्वाचन घोषणाको झापाका राजनीतिक दलहरुद्वारा स्वागत

दमक। सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकामा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने निर्णयको स्वागत गर्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन आफूहरुले सहयोग पुर्याउने जोड दिएका छन् ।
रासससँग कुराकानी गर्दै कांग्रेस झापाका सभापति देउमान थेवेले स्थानीय तहको निर्वाचनको मिति घोषणा स्वागतयोग्य भएको छ भन्दै अब त्यसका लागि दलहरुले निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन घोषित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनका लागि दलहरुले वातावरण निर्माण गर्न सघाउ पुर्याउनु पर्ने धारणा राख्नुभयो ।
निर्वाचन निष्पक्ष बनाउन गठबन्धन सम्मिलित वर्तमान सरकारको दायित्व भएको र अब निर्वाचन कतै नहोला भन्ने शङ्का नरहेको उहाँको भनाइ थियो ।
नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले सरकारले स्थानीय तहको निर्वाचन घोषणा स्वागतयोग्य भएकाले अब निर्वाचनमा जुट्नुपर्ने औँल्याउनुभयो । एमालेले सरकारलाई निर्वाचनका लागि दबाब दिँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निर्वाचन भयरहित, निष्पक्ष बनाउन सरकारले समेत वातावरण निर्माण गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ ।”
जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेनवाला राईले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अब निर्वाचन भई छाड्ने बताउनुभयो । निर्वाचनको विकल्प नभएको चर्चा गर्दै उहाँले अब स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित बनाउन सबैले सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मीले स्थानीय तहको निर्वाचन नहोला भन्ने शङ्का अब हटेको बताउनुभयो । सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब त्यसका लागि दलहरुले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु पर्ने उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्