May 15, 2022, Sunday
२०७९ जेष्ठ २, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रधानमन्त्री देउवालाई सत्ता साझेदार प्रचण्ड-नेपालको जवाफ : अहिले एमसीसी पास गर्न सकिँदैन

प्रधानमन्त्री देउवालाई सत्ता साझेदार प्रचण्ड-नेपालको जवाफ : अहिले एमसीसी पास गर्न सकिँदैन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गर्नु भएको हो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राख्नु भएको थियो।

प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्ने बताउनु भएको छ। उहाँहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिनु भएको छ। प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताउनु भयो । बालुवाटार स्रोतकाअनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताउनु भयो । भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ ।

हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ ।