अदक्ष कामदारले वैदेशिक रोजगारमा थपियो चुनौति

अदक्ष कामदारले वैदेशिक रोजगारमा थपियो चुनौति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गरिदिए । एक महिना बितिसक्दा पनि परिवारले शव नेपाल ल्याउन निकै सास्ती बेहोर्नुपर्‍यो । सेक्युरिटी गार्ड उहाँमा पहिले कुनै पनि स्वास्थ्य समस्या नभएको परिवारको जिकिर छ । शव ल्याउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएका मृतकका पिता नरबहादुरले भन्नुभयो, “यति छिट्टै छोराले छाडेर जाला भनेर हामीले कल्पना पनि गरेका थिएनौं।”

छोराको मृत्युले सिङ्गो परिवार धान्ने खम्बा नै ढलेको उहाँ बताउनुहुन्छ । मृतक गोलेका परिवारमा बुवा, आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । रोशनको मृत्युसँगै पिता नरबहादुरलाई १०, पाँच र तीन वर्षका नातिनातिनाको शिक्षादीक्षाको चिन्ता त छ नै, साहुसँग लिएको रु पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले समेत सताउन थालेको छ । छोरा विदेशमा हुँदा खासै राम्रो कमाइ नभएकाले पहिलेदेखि नै साहुसँग लिएको ऋण तिर्न नसकेको उहाँको भनाइ छ ।

रोजगार बोर्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत मृतकको घरसम्म शव ढुवानी गर्दै आएको छ । बोर्डको शव ढुवानी तथ्याङ्कानुसार वैदेशिक रोजगारीका क्रममा हालसम्म सबैभन्दा बढी मलेसियामा नेपाली कामदारले ज्यान गुमाएका छन् । आव २०७५/७६ मा मलेसियामा २८२, कतारमा १३४, साउदी अरेबियामा २०६, संयुक्त अरब इमिरेट्समा ७९, कुवेतमा ३३, दक्षिण कोरियामा २०, बहराइनमा ११, ओमानमा नौ, जोर्डनमा तीन, माल्दिभ्समा दुई तथा बङ्गलादेश र पोर्चुगलमा एक/एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ७६५ र महिला १७ को मृत्यु भएको थियो ।

त्यस्तै आव २०७६/७७ मा मलेसियामा २१९, साउदी अरबमा १८, कतारमा १०७, युएईमा ९७, कुवेतमा ४२, ओमानमा छ तथा अफगानिस्तान र साइप्रसमा दुईदुई जनाले ज्यान गुमाए । यसैगरी इजराइल, ब्रुनाइ, इराक, पोल्याण्ड, पोर्चुगल, रुस र अफगानिस्तानमा एक÷एक जनाले ज्यान गुमाएका थिए । तिनमा पुरुष ६६५ र महिला १४ जनाको मृत्यु भएको थियो ।

आव २०७७/७८ मा माल्दिभ्सका सबैभन्दा बढी कामदारको शव ढुवानी गरिएको पाइएको छ । शव ढुवानीको तथ्याङ्कानुसार माल्दिभ्सका २४१, साउदी अरेबियाका २२७, कतारका १३८, युएईका ९२, मलेसियाका ६०, दक्षिण कोरियाका छ तथा ओमन र रोमानियाका दुई/दुई जना छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट घरसम्म पुर्‍याउँदाको सम्पूर्ण खर्चको व्यवस्था बोर्डले नै गर्दै आएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रभावकारी भएन तालिम

रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानुपूर्व नेपाली श्रमिकलाई गन्तव्य मुलुकका बारेमा अभिमुखीकरण दिँदै आएको छ । सो तालिममा गन्तव्य मुलुकको भाषासमेत सिकाइने गरेको छ । तालिमबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई सो देशको संस्कृति, रहनसहन र कामका प्रकृतिका बारेमा जान्न निकै सहज हुने उहाँको भनाइ छ । तालिममा वैदेशिक रोजगारीका क्रममा हुने तनाव कसरी व्यवस्थापन गर्ने, विदेशमा कसरी सुरक्षित हुने लगायत कुरा पनि सिकाइने जनाइएको छ ।

यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व लिएको सीप विकास तालिमबाट कामदारलाई वैधानिक रुपबाट जान अभिप्रेरित गर्दै आएको श्रेष्ठको भनाइ छ । सीप विकास तालिमका लागि बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)सँग समन्वयसमेत गरेको जनाइएको छ । तालिमपछि कतिपय युवा स्वदेशभित्रै स्वरोजगार भएर बसेको थाहा भएको छ । हाल सिटिइभिटीले देशभर १९ शैक्षिक संस्थामार्फत दैनिक ५३ तालिम दिँदै आएको छ ।

सबैभन्दा बढी अदक्ष कामदार

वैदेशिक रोजगार विभागको तथ्याङ्कानुसार नेपालबाट सबैभन्दा बढी अदक्ष कामदार खाडी मुलुकमा जाने गरेको पाइएको छ । हालसम्म नेपालबाट ७४ प्रतिशत अदक्ष कामदार विभिन्न गन्तव्य मुलुकमा गएका छन् । त्यस्तै अर्धदक्ष दुई र दक्ष एकदेखि दुई प्रतिशत मात्र गएको विभागले जनाएको छ । बाँकी जनशक्ति विकसित मुलुकमा गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

बोर्डको तथ्याङ्कानुसार आव २०७५/०७६ मा दुई लाख आठ हजार ३५२ नेपाली कामदारले वैदेशिक रोजगारीका लागि १३६ मुलुकका निम्ति श्रम स्वीकृति लिएका थिए । तीमध्ये उच्च क्षमताका २१०, व्यावसायिक ७८७, अर्धदक्ष ४२ हजार ७८४, दक्ष एक लाख ७९ हजार ६०१ र अदक्ष दुई लाख ८५ हजार ४४५ जनाले श्रम स्वीकृति लिएका थिए ।

यस्तै आव २०७६/०७७ मा १९ लाख ४५३ जनाले १२७ गन्तव्य मुलुकका लागि र आव २०७७/०७८ मा ७२ हजार ८१ जनाले ११६ गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका थिए । गत आवमा उच्च क्षमताका ६१, व्यावसायिक २४६, अर्धदक्ष १५ हजार ५८३, दक्ष ७० हजार ४२६ र अदक्ष ८० हजार ३८२ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आव २०७७/७८ को तथ्याङ्क हेर्दा साउनमा १३ हजार आठ सय, भदौमा २२ हजार ६०८, असोजमा २६ हजार ९१, कात्तिकमा २७ हजार ७०९, मङ्सिरमा ३१ हजार ३१ र पुसमा ६५ हजार १६० जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् ।