सत्तारोध दलमा सहमति नजुटे पछि संसदमा एमसीसी टेबल भएन, कानुनमन्त्री बडु भन्‍नुहुन्छ- ६ गतेको बैठकमा एमसीसी टेबल हुन्छ

सत्तारोध दलमा सहमति नजुटे पछि संसदमा एमसीसी टेबल भएन, कानुनमन्त्री बडु भन्‍नुहुन्छ- ६ गतेको बैठकमा एमसीसी टेबल हुन्छ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारोध दलहरुमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल हुन सकेन । माओवादी केन्द्रको सचिवालय बैठकले एमसीसी संसदमा पेश भए सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि थप सहमति जुटाउने भन्दै एमसीसी टेबल गर्ने कार्यसूची हटाइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल पछि मात्रै संसदमा पेश गर्ने सहमति भएको बताइएको छ ।

‘आज एमसीसी टेबल नगर्ने , भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको छ’, बालुवाटारनिकट स्रोतले बताएको छ। एमसीसीबारे छलफल गर्न विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ ।

आजको संसद बैठक नेकपा एमालेको अबरोधबीच केही समय बसेर स्थगित भएको छ । अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेस गर्नुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा स्व। सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दुमन थापाको निधनमा शोक प्रस्ताव पारित भएको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ । यो बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले बताउनु भएको छ। बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले भन्‍नुभयो-” गठबन्धन दलले छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं । ६ गतेको बैठकमा टेबल हुन्छ । यसका लागि हामी प्रयास गर्छौं ।”