गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न- सडक भत्काएर इँटा र ढुंगा हान्न आदेश दिएको हो ?’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर हिजो नयाँबानेश्वर क्षेत्रमा प्रहरीमाथि सत्ताधारी दलकै कार्यकर्ताबाट भएको आक्रमणबारे प्रश्न गर्नुभएको छ ।
संसदमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्न सहमति जनाएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र इँटा बर्साएर आक्रमण गरेको घटनामा अध्यक्ष ओलीले फोन गरेर गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्नुभएको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रमलाई गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराउनु भएको हो ।
गृहमन्त्रीलाई मैले भनेँ, ‘तपाईं किन पुलिस सडकमा पठाउनु हुन्छ ? सत्ताधारीले नै मान्छेलाई ढुंगा हान्न पठाएका छन् । कति खर्चमा बनाएका बाटाहरु सरकारमा हुने क्रान्तिकारीहरुले भत्काइरहेका छन् । बाटो बनाउनुपर्ने ठाउँमा बजेट काट्ने र भत्काउने काम भएको छ’, ओलीले भन्नुभयो, ‘कोही छैन यो देशमा नभत्काऊ भन्ने ? यो कस्तो सरकार हो ?’
अध्यक्ष ओलीले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भने आफूले गृहमन्त्रीलाई प्रश्न गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रहरी कुटाइ खाएर भागेको छ । २५ जना मान्छेले ढुंगा हानेको छ । डेढ सय प्रहरी पछाडि भाग्दै छ । केही पनि आदेश हुँदैन ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘सडकमा केही पनि नगर्नु भनेर आदेश दिँदै एकथरीले प्रहरी पठाउँछ । अनि सरकारमै भएको अर्को थरीले तिनै प्रहरीमाथि आक्रमण गर्छ,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई सोधेँ, इँटा र ढुंगा हान्ने मात्रै आदेश थियो ? एमसीसी पास गर्न आफैं सही गर्ने, टेबल गर्ने अनि सडकमा खुब क्रान्तिकारी भएर कार्यकर्ता उतार्ने ? प्रहरी किन कुटिए ? कति घाइते भए ?’

प्रतिकृया दिनुहोस्