एउटा व्यक्तिको टाउको केही होइन,तर त्यसले नेपालीको शिरको प्रतिनिधित्व गरिराखेको हुन्छ भने झुकाउन मिल्दैन : केपी शर्मा ओली

काठमाडौं। कहिले कहिले मान्छे परिभाषामा अल्मलिन्छ । आजकाल एउटा शब्द छ खोक्रो राष्ट्रवाद । अनि खँदिलो, दरिलो कस्तो हुन्छ राष्ट्रवाद ? खूब देख्छु म अखबारहरूमा यो खोक्रो राष्ट्रवाद। अनि भित्रैदेखि अग्राख पसेको राष्ट्रवादचाहिँ कस्तो हुन्छ ? देशभक्ति, देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानलाई कायम राखेर अगाडि बढाउने योचाहिँ खोक्रो हो भने बलियोचाहिँ कुन होला ? कुरा खोक्रो हुन्छ ?
हामी एउटा व्यक्तिको टाउको केही होइन, एउटा व्यक्तिको शिर केही पनि होइन, तर कुनै कुनै बेला त्यसले नेपालीको शिरको प्रतिनिधित्व गरिराखेको हुन्छ भने, त्यसलाई झुकाउँदा नेपालीको शिर झुकेको अर्थ लाग्छ भने झुकाउन मिल्दैन ।
म आफूलाई भन्छु, मेरो केही पनि छैन, म गाउँमा जन्मेर बाख्रा चराएर, गाई-भैंसी चराएर, भान्छाको कामदेखि सबै काम गरेर आएको मान्छे हुँ। न मलाई कुनै दर्प छ, न ममा कुनै घमण्ड छ। अवसर पाएको छु, शालीनताका साथ त्यस अवसरलाई देश र जनताको सेवामा लगाउनुपर्छ भन्ने ठानेको छु । देशको प्रधानमन्त्रीको हिसाबले नेपाल राष्ट्रकै प्रतिनिधित्व गरिराखेका ठाउँमा रहेको छु । मैले होसियार हुनुपर्छ। म लम्पसार पर्दाखेरि सबै लम्पसार परेको देखियो भने राम्रो हुँदैन ।
म लम्पसार पर्न त्यसकारण सक्दिनँ, किनभने नेपाल जहाँ सगरमाथा छ, जुन देशमा बुद्ध जन्मे, जहाँ कहिल्यै पनि घाम नअस्ताउने साम्राज्य हुँदाखेरि पनि योचाहिँ साम्राज्यका मातहतमा भएन। दुनियाँ उपनिवेशका पैतालामुनि थिचिँदा पनि यसले आफ्नो स्वतन्त्रतालाई बचाएर राख्यो। यो स्वाभिमानलाई तलमाथि पर्न दिनु हुँदैन भन्ने मात्रै हाम्रो कुरा हो ।
यसमा कुनै अर्घेल्याइँ छँदै छैन । कसैप्रति वैरभाव छैन। कसैप्रति अपमानभाव छैन । हामी सबैका मित्र हाँ, मित्रता चाहन्छौँ। मैत्रीपूर्ण व्यवहार चाहन्छौं नेपालीले उहिले पनि शिर झुकाएन, एक्काइसौं शताब्दीमा गोडलागी भन्ने कुरा शरणार्थीले पनि गर्न छोडिसके। आजकल त गुड गर्ने चलन छ । हामी सबैसँग हात मिलाउँछौँ, नो गोडलागी । गोडलागी हुँदैन भनेको मात्र हो । हामी यस राष्ट्रको राष्ट्रिय गरिमालाई बढाउँछौँ र अगाडि जान्छौँ।
कतिपय पृथकतावादी तत्वहरू क्रियाशील छन् । छुट्टै गान, छुट्टै चिन्ह, छुट्टै झन्डाजस्ता विखण्डनकारी कुराहरू गरिरहेका छन् । म सरकारको तर्फबाट भन्न चाहन्छु, हामीले परिस्थितिलाई हेरेरै केही समय यसलाई वैचारिक हिसाबले नै परिवर्तन गरौँ भनेर सहनशीलता देखाएका हौँ। देशद्रोह कुनै पनि हालतमा सहय हुनेछैन । विखण्डनकारी प्रवृत्ति कुनै पनि हालतमा सय हुनेछैन । देश टुक्र्याउने प्रवृत्ति कुनै पनि हालतमा सय हुने छैन। देशमा सामाजिक सद्भाव खल्बल्याएर कहाँ पुऱ्याउन खोजिएको रु पुऱ्याउन खोजिएको छ विभाजन र विखण्डनमा । त्यो कुरा सत्य हुने छैन । विनाआवेश, विनाउत्तेजना म निवेदन गर्न चाहन्छु ( राष्ट्रिय एकता, सामाजिक सद्भाव र अग्रगामी विकासतर्फका प्रयासहरूमा हामी लाग्छौँ ।
(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७१ औं जन्मोत्सवका अवसरमा आज विमोचन हुन लागेको पुस्तक समवेत दृष्टिको सम्पादित अंश)

प्रतिकृया दिनुहोस्