प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्छ- कांग्रेस नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनु भएको छ। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताउनु भयो ।
‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, पौडेलले भन्नु भयो । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौ भन्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गर्नुभयो। तर, वर्तमान गठबन्धन टुटेमा कस्तो गठबन्धन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उहाँको भनाइ थियो । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उहाँले भन्नु भयो ।
वरिष्ठ नेता पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरेपनि केपी ओलीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिकृया दिनुहोस्