युक्रेनमा रुस हमला दोस्रो दिन पनि जारी, अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

एजेन्सी। रुसले युक्रेनको विभिन्न क्षेत्रमा सैन्य आक्रमण दोस्रो दिन पनि जारी राखेको छ। रुसी आक्रमण २४ घण्टा बितिसक्दा युद्धमा करीब १३७ युक्रेनीको मृत्यु भइसकेको छ भने ३१६ जना घाइते भएका छन् । जसमा युक्रेनी सैनिकसँगै सर्वसाधारण पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । राजधानी किभ लगायत युक्रेनका विभिन्न भागबाट ठूलो संख्यामा मानिसहरुले देश छाडिरहेका छन् । यसैबीच, रुसी आक्रमणको जवाफ दिँदै आएको युक्रेन सरकारले १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरूलाई आफ्नो देश छोड्न प्रतिबन्ध लगाएको छ ।
पहिलो दिन युक्रेनमा २०३ वटा आक्रमण भएको रुसले जनाएको छ जसमा रुसले युक्रेनमा १६० मिसाइल प्रहार गरेको बताएको छ। राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १७०० जनालाई पक्राउ गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेना राजधानी कीभमा प्रवेश गरेको बताएका छन्। राजधानी किभमा बिहीबार राति १० बजेदेखि बिहान ७ बजेसम्म रात्रि कर्फ्यु लगाइएको छ ।
त्याहाँ प्रत्यक्षदर्शीले रातभरि विस्फोट र हवाई आक्रमणको साइरन सुनेको बताएका छन् । मानिसहरूलाई बत्तीहरू निभाउन र पर्दा लगाउन समेत आग्रह गरिएको थियो। रुसले युक्रेनको स्नेक आइल्याण्डमा समेत कब्जा गरेको छ ।
रुसी सेनाले चेरनोबिल न्यूक्लिएर प्लान्ट र किभ नजिक रहेको युक्रेनी एयरबेस पनि रुसको कब्जामा छ । हवाई आक्रमणका कारण यहाँका भवनहरु ध्वस्त भएका छन् ।रुसी विमान एन्टोनोभ–२६ युक्रेन नजिकै भोरोनेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । यो विमानले उपकरण ढुवानी गरिरहेको रुसले जनाएको छ । विमानका चालक दलका सदस्यको मृत्यु भएको छ । तीमध्ये कति थिए रुसले भने बताएको छैन। हाल रुसको राजधानी मस्कोमा सयौं रुसी नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।
अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा
रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।
रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गर्नुभएको हो । रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।

प्रतिकृया दिनुहोस्