चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु स्थानान्तरणको गृहकार्य सुरु

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु स्थानान्तरणको गृहकार्य सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन। एक सिङ्गे गैँडा, बाह्रसिङ्गे, अर्ना र कृष्णसार स्थानान्तरणको गृहकार्य थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिले वन्यजन्तु स्थानान्तरणका लागि अध्ययन गर्न समिति बनाएर प्रक्रिया अघि बढाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र यहाँबाट कोशीमा गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गर्न लागिएको हो । चितवनमा नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन सुरु गर्न समिति बनाइएको हो ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत इकोलोजिष्ट हरिभद्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति बनाइएको छ । समितिमा कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा विभागका सहायक इकोलोजिष्ट हेमराज आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र विश्ववन्यजन्तु कोषका डा कञ्चन थापा सदस्य रहेको समिति बनाइएको हो । समितिले अध्ययन गरी प्रतिवेदन दिएपछि स्थानान्तरणको काम थालिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै छ भने पूर्वमा कम छ । यहीँबाट कोशीमा गैँडा लैजान सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्न लागिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा धेरै वर्षअघि अर्ना रहेको बताइन्छ । पहिले भएकै कारण यहाँ अर्नाको बासस्थाान उपयुक्त हुने विज्ञको भनाइ छ । यद्दपि खोरमा लामो समय राख्दा भने समस्या भएको हो ।

पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ । आचार्यका अनुसार सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाइसकिएको छ । सो ठाउँमा खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ । उहाँका अनुसार सोलार फेन्स गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ ।

सो क्षेत्र निकुञ्जको मध्यवर्तीभन्दा बाहिर परेकाले यसको व्यवस्थापनको टुङ्गो लाग्न ढिलो भएको बताइएको छ । निकुञ्जमा यसअघि ल्याइएका सात वटा बाह्रसिङ्गेमध्ये ६ वटा मरिसकेका छन् । तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो । सो खोरमा हाल तीन वटा अर्ना छन् । तत्कालीन समयमा कोसीटप्पुबाट १३ वटा र सदर चिडियाखानाबाट दुई वटा अर्ना ल्याइएको थियो । ल्याइएका अर्ना मरेर अहिले तीन वटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा भएको आचार्यले जानकारी दिनुभयो ।