रूसी सरकारी टेलिभिजनका सम्पादक मरिनाद्वारा स्टुडियो भित्रै युद्धविरोधी प्लेकार्ड प्रदर्शन, संसारभरि चर्चा चुलियो

रूसी सरकारी टेलिभिजनका सम्पादक मरिनाद्वारा स्टुडियो भित्रै युद्धविरोधी प्लेकार्ड प्रदर्शन, संसारभरि चर्चा चुलियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (मंगलबार) २० औं दिन पुग्दा आक्रमणको विरोध बाहिर मात्र होइन रूसभित्रै पनि हुन थालेको छ। सोमबार राति भएको एउटा विरोधको घटनाले भने अहिले संसारभरि चर्चा पाइरहेको छ।

बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाउनु भएको थियो । च्यानल वानकी सम्पादक मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा ‘युद्ध रोक। युद्ध चाहिँदैन। यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्। रूसी जनता युद्धको विपक्षमा छन्’ लेखिएको प्लेकार्ड देखाउनु भएको थियो । मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढ्नु भएको थियो । केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो।

समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए। उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन।

सञ्चारमाध्यममा सबथोक सामान्य रूपमा चलिरहेको देखाइन्छ। यो सबै थाहा पाउँदापाउँदै मरिनाले विरोध गर्नु भएको थियो । टेलिभिजन समाचारमा प्लेकार्ड देखाउनुअघि उहाँले एउटा भिडिओ रेकर्ड गर्नु भएको थियो। मानव अधिकारवादी मिडिया प्रोजेक्ट ओभिडी इन्फोबाट अहिले त्यो पनि प्रशारण भएको छ। उक्त भिडिओमा मरिनाले वर्षौंदेखि रूसी प्रोपोगान्डा प्रसारण गर्दागर्दै आफू दिक्क भइसकेको बताउनु भएको छ।

मरिनाको उक्त कदमको अहिले संसारभर चर्चा भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको साहसको प्रशंसा गर्नु भएको छ । सामाजिक सन्जालमा उहाँको भिडिओ भाइरल छ। उहाँको फेसबुक पेजमा ४० हजार बढी मानिसले प्रतिक्रिया जनाएका छन् तीमध्ये धेरैले उहाँको तारिफ गरेका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेको यो आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौं मानिसहरूले ज्यान गुमाएका छन्।