सूचनाको हक कार्यान्वयनमा जोड

सूचनाको हक कार्यान्वयनमा जोड
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ। राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली (थापा)ले सूचनाको हकको कार्यान्वयनले मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । सूचनाको हक र यसको कार्यान्वयनसम्बन्धी आइतबार दिक्तेलमा भएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जनतालाई जगाउन र सरकारलाई घचघच्याउन सूचनाको हकको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो ।

“प्रजातान्त्रिक देशमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “सरकारलाई पारदर्शी र जवाफदेही बनाउन यसको खास महत्व छ । सूचना माग्नुस्, आउनुस्, कानुनले दिन मिल्ने सूचना लुकाउनुपर्ने कारण नै छैन ।” स्थानीय तहबाट सूचनाको हक कार्यान्वयन नभएको पाइएको जनाइएको छ ।

कार्यक्रममा आयोगका सचिव भागीरथ पाण्डेयले माग गरेको सूचना नपाएको भन्दै सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्ध परेको जानकारी दिनुभयो । स्थानीय तहबाट सूचना नपाएको जनाउँदै आर्थिक वर्ष २०७६/०७७ मा ५३१ र आव २०७७/०७८ मा ५४५ उजुरी परेको आयोगले जनाएको छ।

आयोगका अनुसार बैंक तथा वित्तीय संस्था (आर्थिक) सम्बन्धी आव २०७६/०७७ मा ७० र आव २०७७/०७८ मा ३२ , सूचना तथा सञ्चार प्रविधिसम्बन्धी आव २०७६/०७७ मा पाँच र आव २०७७/०७८ मा छ, कानुन, न्याय तथा प्रशासनसम्बन्धी आव २०७६/०७७ मा ५६ र आव २०७७/०७८ मा ३१ उजुरी परेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसम्बन्धी आव २०७६/०७७ मा ९४ वटा र आव २०७७/०७८ मा ५६ वटा, खानेपानी, विद्युत् तथा यातायातसम्बन्धी आर्थिक वर्ष २०७६/०७७ मा १० र आव २०७७/०७८ मा २० , संस्थान तथा प्राधिकरणसम्बन्धी आव २०७६/०७७ मा ११ र आव २०७७/०७८ मा ७ , जग्गा, मालपोत, भूमि, वन तथा कृषिसम्बन्धी आव २०७६/०७७ मा ३४ र आव २०७७/०७८ मा १३ उजुरी परेको छ ।

गैरसरकारी संस्था तथा अन्य संस्थासम्बन्धी आव २०७६/०७७ मा २०१ र आव २०७७/०७८ मा ३१ , प्रहरी तथा सुरक्षा निकायसम्बन्धी आव २०७७/०७८ मा ११ र पर्यटनसम्बन्धी आव २०७६/०७७ मा एक उजुरी परेको जानकारी कार्यक्रममा दिइएको थियो ।