धनकुटा नगरमा तामाङ र राईबीच फेरी चुनावी भिडन्तको सम्भावना, कस्ले जित्ला धनकुटा नगरपालिका?

धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा धनकुटामा पाँचदलिय गठबन्धन र एमालेवीच तिव्र प्रतिस्पर्धा देखिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा क्लिनस्वीप गरेको एमालेलाई पुरानो विर्ता जोगाउने र पाँचदलिय गठबन्धनलाई एमालेको किल्ला भत्काउने सकस परेको छ ।
एक्लाएक्लै चुनाव लडदा पालिका जित्न नसकिने र पहिले जितेको वडासमेत गुम्ने खतारा भएपछि महागठबन्धनमा उत्रिएका कांग्रेस, समाजवादी, जसपा, माओवादी र जनमोर्चाले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा जाने घोषणा गरेका छन् । यता एमालेले पनि आफ्नो पुरानो लालकिल्ला जोगाउन टोलटोलमा कमिटी बनाएर अभियानमा जुटेको छ । एमालेसँग पुरानो जनाधार र स्थानीय सरकारले गरेका कामसँगै संघीय र प्रदेश सांसदहरुले गरेका विकासका कार्यक्रमहरुले चुनाव जित्ने बलियो आधार बनाएको छ ।
२०७४ सालको निर्वाचन परिणामलाई आधार बनाउने हो भने एमालेलाई चुनाव जित्न सहज देखिन्छ । यदी गठबन्धन इमादारिताको साथ कार्यन्वयन भए धनकुटा नगरपालिकामा बाहेक अन्य पालिकामा एमालेलाई सकस नभएको टिप्पणी रहेको छ । धनकुटा नगरपालिकामा गएको निर्वाचनमा एमालेका उम्मेदवारले ४९३३ मत प्राप्त गरी विजयी भएकाले थिए । कांग्रेसले ४८१९ मत, माओवादीले २५३७ र राप्रपाले २८४ मत प्राप्त गरेका थिए । धनकुटामा जसपाले कांग्रेससँग समिकरण गरेको थियो ।
यो पालिकाको तत्कालिन मतको तुलना गर्दा गठबन्धनलाई सहज देखिन्छ । तर पछिल्लो पटकमा माओबादीबाट विजयी भएका वडाध्यक्ष सन्दिप रायमाझीसहित करीब एकहजार जना माओबादीका मतदाता र कार्यकर्ता एमालेमा आएका छन् । त्यस्तै कांग्रेसबाट समेत २०० भन्दा बढी एमालेमा आएका छन् । यी बाहेक धनकुटाका स्वतन्त्र मत समेत यसपटक एमालेसँग हुने भएकाले जिल्ला कठिन नभएको एमाले धनकुटा नगर कमिटि अध्यक्ष अर्जुन छाराहाङको भनाइ रहेको छ ।
धनकुटा नगरपालिकामा आठपहरिया, तामाङ, नेवार क्षेत्रीबाहुन गरी चारथरी जातका मतदाताको बाहुल्यता रहेको छ । जातीय आधारमा पनि १५ देखि २० प्रतिसत मत तलमाथी हुने भएकाले राजनीतिक दलका उम्मेदवारलाई हारजितको टुंगो लगाउने सम्भावना समेत रहेको छ । गएको निर्वाचनमा कांग्रेसले दिनेश आठपहरिया राई र एमालेले चिन्तन तामाङलाई मेयरमा उम्मेदवार बनाएको थियो । दुवै उम्मेदवार आ–आफ्नो जातीय बाहुल्यता भएको क्षेत्रबाट करीब ७० देखि ८० प्रतिसत मत प्राप्त गरेका थिए ।धनकुटा नगरमा आठपहरिया जातीको बहुल्यता रहेकाले कांग्रेस उम्मेदवारले धेरै मत पाएको थियो । त्यही भएर थोरै मतान्तरमा मात्रै एमालेले जितेको थियो ।
तर उपमेयरमा एमाले उपमेयरमा भने भारी मतअन्तर जितेको थियो । उपमेयर एमालेकी सकुन्तला बस्नेतले ५४६४ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी रेणु श्रेष्ठले ३६२३ मत प्राप्त गरेकी थिइन् । एमालेबाट मात्रै क्षेत्री बाहुन समुदायबाट उम्मेदवार भएकाले उपमेयर एमालेले भारी मत पाएको थियो । यही अवस्था यसपटकको निर्वाचनमा समेत हुने आँकलन छ । त्यसैले हारजितको अवस्था भनेजसरी नहुने स्थानीयको भनाइ रहेको छ ।
गएको पाँच बर्षमा एमालेबाट विजयी भएका मेयर चिन्तन तामाङले सबै भन्दा बढी आठपहरिया र क्षेत्रीबाहुन बाहुल्य क्षेत्रमा काम गरेका छन् । उनी नै एमालेको उम्मेदवार बने ब्यक्तिगत ५ सय देखि १ हजार मत थपिने अवस्था समेत रहेको छ । एमालेमा तामाङसँगै सकुन्तला बस्नेत, निरेन तामाङ, उमेश घिमिरे, नरेन्द्र पोखरेल, अर्जुन छाराहाङ, तारा तितुङ, गीता अधिकारी, भीमादेवी खनाल लगायतको नाममा मेयर र उपमेयरमा चर्चामा रहेको छ ।
गठबन्धनबाट यो पालिकामा कांग्रेस धनकुटाका सभापति दिनेश आठपहरिया राई, पुर्व एसपी दिनेश अमात्य, पुर्वमेयर राजेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । माओबादीबाट खगेन्द्र विष्ट, गणेश विष्ट, विष्णुमाया कन्दङवा लगायतको नाम चर्चामा रहेको छ । जसपा र एकिकृत समाजबादीबाट खासै नाम चर्चामा छैन । यो पालिकामा गठबन्धनबाट कांग्रेस र माओबादीले मेयर र उपमेयर पाउँने सम्भावना रहेकाले अन्य दलको खास चर्चा नभएको हो । दिनेश राईले टिकट पाए जातीय मत र गठबन्धनको मतले बलियो उम्मेदवारको रुपमा देखिएको छ । गठबन्धनले सहज जित्न सकिने पालिकाको सुचिमा यो नगरपालिका राखेको कांग्रेस धनकुटाका प्रचार विभाग प्रमुख खगेन्द्र घिमिरेले बताए। यसपटक संगठन विस्तार भएको छ । एमाले विभाजित छ । माओवादीको समेत मत थपिने भएकाले जित्न सकिने उनले बताए।
धनकुटा नगरपालिकामा २२ हजार ९६४ मतदाता रहेको छ । ७० प्रतिसत मतदान भए करीब १६ हजार मतदान हुनेछ । यो अवस्थामा एमाले र गठबन्धनलाई चुनाव जित्न मतदाता बढाउनु पर्ने देखिन्छ । राप्रपा, अन्य साना दल र बदर मतसहित एक हजार घटाउदा पनि जित्नको लागि कम्तिमा ७५०० मत ल्याउनु पर्ने अवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्