यस्ता गुण भएका छन् धनकुटामा एमालेले उठाएका पालिका प्रमुखहरु

धनकुटा। नेकपा एमाले धनकुटाले स्थानीय पालिकामा प्रमुख पदका उम्मेदवारहरु लामो समयदेखि राजनीतिमा होमिएका ब्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ७ वटै पालिका जितेर क्लिनस्वीप गरेको एमालेले यस पटक पनि क्लिनस्वीप गर्ने दावी गरेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि एमालेले उम्मेदवार बनाएका ब्यक्तिहरुको विषयमा संक्षिप्त चर्चा जानकारी यस्तो रहेको छ ।
चिन्तन तामाङ/धनकुटा नगरपालिका
धनकुटामा सवैभन्दा पहिला सर्वसम्मत उम्मेदवार बन्नु भएको थियो, चिन्तन तामाङ । धनकुटा नगरपालिका वडा नं. १ हिले निवासी तामाङ २०७४ सालको निर्वाचनमा मेयरमा विजयी हुनु भएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनु भएकाो थियो । एमालेभित्र शालिन र भद्र नेताको रुपमा तामाङ स्थापित हुनुहुन्छ । एमाले धनकुटाका उपाध्यक्ष तामाङ कार्यकर्ताको भावना बुझ्ने र राजनीतिक घेरा भन्दा माथी उठेका नेताको रुपमा चिनिन्छन् । उहाँको कार्यकालमा धनकुटा नगरपालिकामा भएको विकास निर्माण र परिवर्तनको कारण दोस्रोपटक फेरी टिकट पाउन सफल हुनु भएको छ ।
भीमबहादुर राई/पाख्रीबास नगरपालिका
२०५४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन स्थायी शिक्षकको जागिर छाडे फलाटे गाविस अध्यक्ष हुनु भएका भीमबहादुर राई एमालेका शालिन नेता हुनुहुन्छ । पार्टीको नीति र निर्देशनलाई अक्षरश पालना गर्नुुहुने राई सर्वसम्मत उम्मेदवार बन्नु भएको हो । एमाले धनकुटाका सचिवालय सदस्य राई मेयरको टिकट पाउँने नयाँ अनुहार हो । पाख्रीबास नगरपालिका वडा नं. ७ निवासी राई ४० बर्षदेखि बामपन्थी राजनीतिमा हुनुहुन्छ ।
दीपक बुढाथोकी/महालक्ष्मी नगरपालिका
२०५४ सालको स्थानीय निर्वाचनमा चानुवा गाविस अध्यक्ष निर्वाचित हुनु भएका दीपक बुढाथोकी एमालेका पुराना नेता हुनुहुन्छ । सुर्यबहादुर थापाको दवदवा हुँदा समेत एमालेको संगठन विस्तारमा क्रियासिल रहेका बुढाथोकी र वाहालवाला मेयर पर्शुराम नेपालवीच टिकटको दौड रहेको थियो । पार्टीभित्र हक्की स्वभावका बुढाथोकी ३५ बर्षदेखि एमालेको राजनीतिमा हुनुहुन्छ ।
शेरबहादुर लिम्बु/छथर जोरपाटी गाउँपालिका
नीति नियमभित्र रहेर राम्रो काम गरेको छाप बनाउन सफल भएका शेरबहादुर लिम्बुले दास्रो कार्यकालको लागि एमालेबाट टिकट पाउनु भएको । शिक्षक जागिर छाडेर राजनीतिमा आएका लिम्बु विद्यार्थी÷युवा राजनीतिवाट उदाएका नेता हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा लोकप्रिय मतसहित विजयी भएका लिम्बु जनतामाझ् उतिकै लोकप्रिय छन् । धनकुटाको ताङखुवा निवासी लिम्बु एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ ।
मनोज राई/सहिदभूमि गाउँपालिका
विद्यार्थी राजनीतिबाट उदाएका नेता मनोज राई दोस्रो कार्यकालका लागि टिकट पाउने भाग्यशाली उम्मेदवार हुनुहुन्छ । धनकुटाको आँखिसल्ला निवासी राई मिठो भाषणकला भएका ब्यक्ति हुनुहुन्छ । आँखिसल्लाको थलथले बजारमा राप्रपा र कांग्रेसको दवदवाकावीच अन्तरसंघर्ष गरेर हुर्किएका राई २०७४ सालको निर्वाचनमा धेरै पुराना नेतालाई पछि पार्दै उम्मेदवार बन्नु भएको थियो । शिक्षक जागिर छाडेर पुर्णकालिन राजनीतिमा आउनु भएका राईलाई माओबादीहरुले युद्धकालमा कार्वाहीको सूचीमा राखेका थिए । एमाले धनकुटाका सचिवालय सदस्य राई २८ बर्षदेखि एमालेको राजनीतिमा हुनुहुन्छ ।
राजकुमार चेम्जोङ/चौविसे गाउँपालिका
एमालेले उम्मेदवार बनाएका मध्ये नयाँ अनुहारको रुपमा राजकुमार चेम्जोङ रहनु भएको छ । धनकुटाको बसन्तटार निवासी लिम्बु सानैदेखि राजनीतिमा चासो भएपनि एक दशकयता सक्रिय राजनीतिमा आउनु भएको हो । चौविसे गाउँपालिकामा लिम्बु समदायबाट एमालेलाई उम्मेदवार बनाउन सकस परिरहेको वेला उत्कृष्ट विकल्पको रुपमा चेम्जोङलाई उम्मेदवार बनाएको हो । एमालेको चौविसे गाउँपालिका अध्यक्ष चेम्जोङ युवाहरुमाझ् लोकप्रिय रहनु भएको छ ।
कुमारजंग याखा/साँगुरीगढी गाउँपालिका
एमालेभित्र तेस्रोपटक जनप्रतिनिधिको लागि टिकट पाउँने भाग्यशाली ब्यक्ति हुनुहुन्छ, कुमारजंग याखा । धनकुटाको डाँडाबजार निवासी याखा २०५४ सालमा डाँडाबजार गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । भलिवलका राम्रो खेलाडीको रुपमा कहलिएका याखा २०७४ सालको निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ एमाले धनकुटाको सचिवालय सदस्य याखा ३० बर्षदेखि एमालेको राजनीतिमा क्रियासिल हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्