धनकुटाको सहिदभूमिमा एमालेको सान, यस्ता छन् उम्मेदवार र पार्टीको पहिचान

धनकुटाको सहिदभूमिमा एमालेको सान, यस्ता छन् उम्मेदवार र पार्टीको पहिचान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। नेकपा एमालेको लागि धनकुटाको सहिदभूमि गाउँपालिका भोट बैंक हो। साविक छिन्ताङ, खोकु र आँखिसल्ला गाविसलाई मिलाएर सहिदभूमी गाउँपालिका बनेको छ । यी तीनवटै गाविस २०४८ सालयता एमाले लालकिल्ला हो । त्यहीक्रम २०७४ सालको स्थानीय निर्वाचनमा पनि कायम राखेको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनको लागि समेत एमालेले दरिलो उपस्थिती देखाएको छ । एमाले विभाजन पछि बनेको नेकपा एकिर्कत समाजबादीको नगण्य प्रभाव रहेकाले पनि एमालेलाई यो पालिकामा जित निकाल्न सहज देखिन्छ ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज राई ४०५४ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेसले १५०१, माओबादीले १५७९ र जसपाले १०४ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा एमालेको जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादीका करीब ५ सयको संख्यमा नेता र कार्यकर्ता एमालेमा आएका छन् । त्यस्तै कांग्रेस र जसपाका करीब एकसयको संख्यामा नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले सहिदभूमी गाउँपालिका अध्यक्ष निर राईले बताउनु भयो ।

कस्ता छन् त एमालेका उम्मेदवार

एमालेले यसपटकपनि पुरानै अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राईलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका नेता मनोज राई दोस्रो कार्यकालका लागि टिकट पाउने भाग्यशाली उम्मेदवार हुनुहुन्छ । धनकुटाको आँखिसल्ला निवासी राई मिठो भाषणकला भएका ब्यक्ति हुनुहुन्छ।

आँखिसल्लाको थलथले बजारमा राप्रपा र कांग्रेसको दवदवाकावीच अन्तरसंघर्ष गरेर हुर्किएका राई २०७४ सालको निर्वाचनमा धेरै पुराना नेतालाई पछि पार्दै उम्मेदवार बन्नु भएको थियो । शिक्षक जागिर छाडेर पुर्णकालिन राजनीतिमा आउनु भएका राईलाई माओबादीहरुले युद्धकालमा कार्वाहीको सूचीमा राखेका थिए । एमाले धनकुटाका सचिवालय सदस्य राई २८ बर्षदेखि एमालेको राजनीतिमा हुनुहुन्छ । उहाँ १८ बर्षदेखि एमाले धनकुटाको जिल्ला कमिटि सदस्यको रुपमा क्रियासिल हुनुहुन्छ । उहाँ गाउँपालिकामा परिचित अनुहार समेत हुन् । निम्न बर्गीय परिवारमा जन्मिएका राईले एमएड सम्मको अध्ययन गर्नु भएको छ ।

सहदिभूमि–१ धापमा निम्न बर्गीय किसान परिवारमा जन्मिएकी रत्नश्वरी राई दोस्रोपटक पनि उम्मेदवार पाउने भाग्यशाली उम्मेदवार हुनुहुन्छ । सानैमा विहे भएपनि घर नजिकै रहेको आदर्श माध्यमिक विद्यालयमा पढेर एसएलसी पास गरेकी राई गाउँको सामाजिक काममा क्रियासिल हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा उपमेयरको टिकट दिँदा धेरैले कमजोर उम्मेदवारको रुपमा टिप्पणी गरे । तर उहाँले अत्याधिक मत ल्याई सानदार ढंगले जित्नु भयो । विवादरहित काम गर्ने, पार्टीको नीति र निर्देशनलाई पुर्णपालना गर्ने स्वभाव भएकाले यसपटक उहाले पुन दोहोरिने अवसर पाउनु भएको हो । विद्यालयमा अनेरास्ववियूमा संगठित भएकी राई हाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ ।

यो पालिकामा एमालेले वडा नं. १ मा बलराम राई, वडा नं. २ मा खगेन्द्र राई, वडा नं. ३ मा होमनाथ राई, वडा नंं ४ मा भुपेन्द्र राई, वडा नंं ५ मा बालचन्द्र राई, वडा नं. ६ मा हेमकुमार राई र वडा नं. ७ मा बमबहादुर राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।