चौविसेमा एमालेको विरासत जोगाउने अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान

धनकुटा। नेकपा एमालेको लागि धनकुटाको चौविसे गाउँपालिका भोट बैंक हो। साविक ७ वटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत भएको क्षेत्र हो। २०४८ सालदेखि नै एमाले किल्ला रहेको यो पालिका क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनको बेलामा एमालेले सवै गाविसमा विजय हासिल गरेको थियो । त्यसयताको सवै निर्वाचनमा यो पालिकामा एमालेले एकछत्र मत प्राप्त गर्दे आएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष पदका उम्मेदवार खजिन्द्र राईले ३७८२ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेस÷जसपा गठबन्धनले ३२७९ र माओबादीले ९८९ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा गठबन्धन अगाडी देखिए पनि बलियो संगठनका कारण जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादी, कांग्रेस र जसपाका करीब एक हजारभन्दा बढी नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले चौविसे गाउँपालिका अध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार राजकुमार चेम्जोङले बताउनु भयो ।
अध्यक्षमा नयाँ अनुसार राजकुमार चेम्जोङ
एमालेले उम्मेदवार बनाएका मध्ये नयाँ अनुहारको रुपमा राजकुमार चेम्जोङ रहनु भएको छ । धनकुटाको बसन्तटार निवासी लिम्बु सानैदेखि राजनीतिमा चासो भएपनि एक दशकयता सक्रिय राजनीतिमा आउनु भएको हो । चौविसे गाउँपालिकामा लिम्बु समदायबाट एमालेलाई उम्मेदवार बनाउन सकस परिरहेको वेला उत्कृष्ट विकल्पको रुपमा चेम्जोङलाई उम्मेदवार बनाएको हो । एमालेको चौविसे गाउँपालिका अध्यक्ष चेम्जोङ युवाहरुमाझ् लोकप्रिय रहनु भएको छ ।
उपाध्यक्षमा पनि नयाँ अनुहार टंकमाया मगर
एमाले जिल्ला कमिटि सदस्य टंकमाया मगर चौविसे– २ निवासी हुनुहुन्छ । पञ्चायतकालदेखि नै बामपन्थी राजनीतिमा लाग्नु भएकी मगर हाल एमाले चौविसे गाउँ कमिटि उपाध्यक्ष हुनुहुन्छ । उहाँ एमालेको उपाध्यक्ष पाउने नयाँ अनुहार हो । अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएकी मगर शिक्षण पेशामा संलग्न हुँदा मोरङ जिल्लाको लेटाङ, भोगटेनी क्षेत्रमा क्रियासिल हुनु भएको थियो । स्थानीय आमा समुह, सामुदायिक वन महासंघलगायतको सामाजिक संघसंस्थामा क्रियासिल मगरले लामो समय विद्यालयमा पढाउने कार्यसमेत गर्नु भएको थियो । उहाँ मगर समुदायमा लोकप्रिय हुनुहुन्छ ।
यो पालिकामा एमालेले वडा नं. १ मा श्रीकृष्ण श्रेष्ठ, वडा नं. २ मा एनोज लिम्बु, वडा नं. ३ मा मदन तुम्सा, वडा नं. ४ मा लोकेन्द्र मगर, वडा नं. ५ मा ताराबीर याखा र वडा नं. ६ काजीमान लिम्बु, वडा नं. ७ मा भक्त चेम्जोङ र वडा नं. ८ मा धनबहादुर लिम्बुलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्