पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य तिव्र

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी कार्य तिव्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उसैबीच गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उहाँले निर्देशन दिनुभएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिनुभयो ।

जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उहाँले जानकारी दिनुभयो । काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।
तारा एयरको विमान सम्पर्कविहिन भएपछि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ ।

मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो ।