धनकुटाको दुवै प्रदेशसभामा एमालेकै पल्ला भारी

धनकुटाको दुवै प्रदेशसभामा एमालेकै पल्ला भारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै धनकुटामा चुनावी गतिविधि तिव्र देखिएको छ । राजनीतिक दलहरु आमसभा र भेटघाट कार्यक्रम लिएर गाउँ पसेका छन् ।
धनकुटा २०७४ सालको निर्वाचनमा एमालेले क्लिनस्वीप गरेको जिल्ला हो । यो जिल्लामा गएको स्थानीय निर्वाचनमा पनि ६० वडामध्ये ३१ वटा वडा जितेर एमाले पहिलो पार्टी बन्यो र जिल्ला समन्वय समिति एक्लै बनाएको थियो । यो निर्वाचनको करीब ४९ प्रतिसत मत एमाले एक्लैले प्राप्त गरेको थियो ।

यसपटक धनकुटाको प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन, एमाले, जसपा र राप्रपासँगै साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । एमालेले धनकुटा प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अघिल्लोपटकका संसद निरन राईलाई उम्मेदवार बनाएको छ । उनी कम्युनिष्टहरुको गडक्षेत्र छिन्ताङ निवासी हुन् । सरल र मिजासिला राईलाई टक्कर दिन सत्ता गठबन्धनले एकिकृत समाजबादीका अर्जुन राईलाई उम्मेदवार बनाएको छ । त्यस्तै शान्ति मन्त्री हुँदा धनकुटामा विकासको बाढी ल्याएका जसपाका केन्दीय उपाध्यक्ष रकम चेम्जोङ पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यी उम्मेदवार हेर्दा यो क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा देखिएको छ । एमालेलाई बलियो संगठन र प्रतिबद्ध कार्यकर्ताको भर रहेको छ भने जम्मा ८ सय मत रहेको समाजबादीका उम्मेदवारलाई कांग्रेस र माओबादी सवै मत प्राप्त गर्नु पर्नेछ । जसपाका चेम्जोङको पार्टीको मत करीब ३ हजारको हाराहरीमा रहेपनि ब्यक्तिगत/जातीय मत र एमाले÷कांग्रेस/माओबादीका असन्तुष्ट मत पाउने अनुमान गरेका छन् । स्थानीय निर्वाचनको तथ्याङ्क अनुसार यो क्षेत्रमा एमालेसँग करीब १९ हजार मत रहेकाले अन्य दललाई भन्दा सहज देखिएको छ । कांग्रेसको करीब १४ हजार, माओबादीको ३ हजार सय र नेकपा एसको ८ सय मत रहेको छ ।

प्रदेशसभा क्षेत्र नं. २ एमालेका जिल्ला अध्यक्ष एवं निवर्तमान सांसद इन्द्रमणी पराजुली उम्मेदवार बनेका छन् । यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओबादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । गएको स्थानीय निर्वाचनमा यो क्षेत्रमा पर्ने ३ वटै पालिका एमालेले प्रमुख पद गुमाएको थियो । त्यसैले गठबन्धनले जित निकाल्ने दावी गरेको छ । तर कांग्रेसका बागी उम्मेदवार बालानन्द दाहालले मत काट्ने भएपछि एमालेलाई सहज देखिएको छ ।

योसँगै माओबादी केन्द्रकी श्रेष्ठ धनकुटा बजारकी हुन् । स्थानीय उम्मेदवार नभएकाले केही असन्तुष्टिसमेत रहेको छ । यो क्षेत्रमा जसपाका डम्बर कटुवाल उम्मेदवार भएपनि खासै धेरै प्रभाव देखिएको छैन । स्थानीय निर्वाचनको परिणामअनुसार यो क्षेत्रमा एमालेको करीब १७ हजार मत रहेको छ । कांग्रेसको करीब १४ हजार मत रहेको छ । माओबादी केन्द्रको ३ हजार मत रहेको छ । जसपा र नेकपा एसको एकहजारभन्दा कम रहेको छ । यी तथ्यले धनकुटाको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारको पक्षमा बलियो जनाधार देखिन्छ ।